चितवनको भरतपुर महानगरपालिका २९ सिमलताल नजिक पहिरोमा परी बेपत्ता भएको गणपती डिलक्स बसमा रही मृत्यु तथा बेपत्ता भएका यात्रुको परिवारलाई राहत लिन जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गरेको छ।
गत असार २८ गते बिहान साढे ३ बजे काठमाडौंबाट रौतहटतर्फ गइरहेको प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपती डिलक्स बसलाई अचानक माथिबाट आएको पहिरोले बगाउँदा त्रिशुली नदीमा बगाएको थियो । घटना लगतै असार ३१ गते नेपाल सरकारको मन्त्री परिषदले गरेको निर्णय अनुसार घटनामा परी मृत्यु तथा बेपत्ता भएका रौतहटका मृतकको आफन्त पीडित परिवारलाई राहत लिन आउनको लागि जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको हो ।
राहतको लागि जाँदा सम्बन्धित वडाको सिफारिस, मृतकको नागरिकता, मृत्यु दर्ताको फोटोकपी, नाता प्रमाणित, राहत वुझ्नेको नागरिकताको फोटोकपी, कुनै पनि बैंकको चेकाबुकको फोटोकपी अनिवार्य लिएर आउनु पर्ने जिल्ला प्रशासन कार्यालय रौतहट द्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
काठमाडौंबाट रौतहट तर्फ गईरहेको गणपती डिलक्स बस र बिरगंजबाट काठमाडौं आउँदै गरेको एनजल ट्राभल्स बस सिमालताल नजिक पहिरोमा परी त्रिशुली नदीमा बेपत्ता हुँदा दुबै बसको गरेर ६५ जना वेपत्ता भएका थिए । सो मध्ये केहीको शव बरामद भएको थियो भने केहीको अझै बरामद हुनसकेको छैन । यात्रुसंगै बेपता भएका बसको खोजी गर्न नेपाल र भारतको गोताखोर परिचालित गरिएपनि सफल भएनन ।