बयानका क्रममा रविले भने– लगानीबारे मलाई थाहा छैन

समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम गोर्खा मिडियामा लगानी भएकोबारे आफूलाई केही थाहा नभएको बताएका छन् । सूर्यदर्शन सहकारीको रकम अपचलनमा नाम मुछिएपछि लामिछानेसँग कास्की प्रहरीले काठमाडौँमा बयान लिएको थियो । ‘उक्त रकम त्यहाँ गएकोबारे थाहा नभएको र राजीनामा नै दिइसकेको हुनाले त्यसको जिम्मेवारी आफूसँग नरहेको उहाँले बताउनुभएको छ,’ स्रोतले भन्यो, ‘उहाँले कम्पनीको कुनै पनि आर्थिक कारोबारमा आफू संलग्न नभएको जिकिर गरिरहनुभएको छ । तर कम्पनीको सञ्चालक र प्रवन्ध निर्देशक भएको कुराचाहिँ अस्वीकार गर्नुभएको छैन ।’ अनुसन्धानका लागि गोर्खा मिडिया कम्पनीमा छापा हान्न गएको प्रहरीको टोलीले लामिछानेसँग प्रारम्भिक बयान लिएको हो । भदौ १० गते उनीसँग बयान लिइएको कास्की प्रहरीले जनाएको छ । ‘कम्पनीमा छापा हान्न जाँदा प्रारम्भिक के रहेछ भनेर बुझ्नका लागि बयान लिइएको हो,’ प्रहरी स्रोत भन्छ, ‘बयानका क्रममा संसदीय समितिमा जे भन्नुभएको थियो, त्यही दोहोरिएको छ ।’

अनुसन्धानका लागि कास्कीबाट डीएसपी बसन्तकुमार शर्माको नेतृत्वमा टोली काठमाडौँ गएको थियो । लामिछानेसँगै रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश र पूर्व डीआइजी छविलाल जोशीसँग ठाडो बयान लिइएको हो । उनीहरूसँग भदौ ८ मै बयान लिइएको प्रहरी स्रोतको भनाइ छ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक भएर काम गरेका थिए । सोही कनेक्सनका कारण उनी अनुसन्धानमा तानिएको प्रहरीले जनाएको छ ।

‘कम्पनीसँग उहाँको आवद्धता देखिन्छ । पोखरा महानगरको विज्ञ टोलीले अध्ययन गर्दा पनि उहाँको नाम उल्लेख छ,’ अनुसन्धानमै सहभागी एक प्रहरीले भने, ‘बयानको क्रम सकिएको छैन । अनुसन्धानले जे भन्छ, सोही अनुसार प्रक्रिया अघि बढ्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *