करिब सात महिना अघि मात्र घरेलु कामदारका रूपमा कुवेत पुगेकी सल्यान बागचौर नगरपालिका–९ घर भएकी जानकी कुँवरले गत ४ जेठमा आत्महत्या गरिन् । अवैधानिक बाटो हुँदै घरेलु कामदारका रूपमा पुगेकी राहदानी नम्बर पीए ०५४९४९९ भएकी कुँवरले कुवेतको जाराहा भन्ने ठाउँमा आत्महत्या गरेकी हुन् । उनले आत्माहत्या गरेको जानकारी पाएपछि मृतकका बाबु वीरबहादुर कुँवरले बागचौर नगरपालिका कार्यालयमा छोरीको शव नेपाल झिकाउन माग गर्दै निवेदन दिएका थिए । सोही निवेदनका आधारमा वडा कार्यालयले पनि कुवेतस्थित नेपाली दूतावासलाई पत्र लेख्दै शव नेपाल पठाउन आवश्यक सहयोग गरिदिन अनुरोध गरेको थियो । वडाको पत्र प्राप्त हुने बित्तिकै दूतावासले कानुनी प्रक्रिया पूरा गरेर शव बिहीबार बेलुका नेपाल पठाएको छ । कुवेत पुगेपछि घर मालिकको दबाब सहन नसकेर ‘डिप्रेसन’को औषधि सेवन गरिरहेका बेला उनले आत्महत्या गरेको बताइएको छ ।
पछिल्लो समय अवैध बाटो हुँदै दलालका माध्यमबाट कुवेत आउने धेरै घरेलु महिला कामदारले आत्महत्या गर्ने गरेको त्यहाँ रहेका समाजसेवी घनश्याम थापामगर बताउँछन् । घर मालिकको मानसिक तथा शारीरिक यातना, यौनजन्य गतिविधि गर्ने जस्ता कारणले नेपाली महिलाले कुवेतमा आत्महत्या गर्ने गरेको समाजसेवी थापाको भनाइ छ ।