मुगुमा आगलागी : बहिनी झरनालाई बचाउन गएका विशाल आफै पनि बचेनन् मुगु । मुगुको खत्याड गाउँपालिका–२ गाडेखोलाको एक गोठमा आइतबार राति भएको आगलागीमा एकै घरका दुई बालबालिकाको जलेर मृत्यु भएको छ । दुवै शब आगोले जलेर चिन्न नसकिने अवस्थामा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाका अनुसार राति गोठमा आगलागी भएको थियो । आमा सरस्वती सन्ज्यालसहित १४ वर्षीय छोरा विशाल सन्ज्याल र १२ वर्षीय छोरी झरना सन्ज्याल घरको गोठमासँगै सुतेका थिए । आगलागीपछि आमा बाहिर निस्कन सफल भए पनि छोराछोरी निस्किन नसकेपछि जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगतै प्रहरी चौकी श्रीकोटबाट प्रहरी टोली घटना स्थलमा पुगेको थियो ।
बेलुका खाना खाइ उनीहरू सुत्न गएका थिए । राति २ बजेतिर घरभित्र एक्कासी आगो दनदनी बल्यो । त्यो कुरा विशालले थाहा पाए । । लगत्तै विशालकी आमा सरस्वती र उनी बाहिर निस्के । विशालकी आमा छिमेकीसँग गुहार माग्न थालिन् । विशाल बहिनी बचाउन घरभित्र पसे । सुतिरहेकी बहिनी बचाउन गएका बिहाल बाहिर निस्कन सकेनन् । उनी बहिनीसँगै आगोमा जलेर खरानी भए ।