भारतको बेंगलुरुको व्यालिकवल इलाकामा नेपाली महिलाको विभत्स हत्या गरेर शव फ्रिजमा राखिएको अवस्थामा भेटिएको छ । भारतीय पत्रिका टाइम्स् अफ इण्डियाका अनुसार हत्या गरिएकी २९ वर्षीया महालक्ष्मी दास नेपाली मूलकी नागरिक हुन् । उनको शरीरलाई टुक्रा–टुक्रा पारेर (अनुमानित २० देखि ४० को बीचमा टुक्रा) र १६५ लिटरको फ्रीजमा राखिएको थियो। महालक्ष्मीको हत्या १५ दिनअघि भएको आशंका गरिएको छ । उनको फोन सेप्टेम्बर २ देखि स्वीच अफ रहेको र मृतकका छिमेकीले दुर्गन्ध आएको गुनासो गरेपछि घटना सार्वजनिक भएको हो । छिमेकीले महालक्ष्मी बस्ने कोठामा दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि वरपरको क्षेत्रलाई घेरा बन्दी गरिएको थियो। यस विषयमा भारतीय प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । पति हेमन्त दाससँग सम्बन्ध विच्छेद भएपछि महालक्ष्मी बेंगलुरुमा एक्लै बसेकी थिइन्। शनिबार एक छिमेकीले महालक्ष्मी बस्दै आएकी घर मालिक जयरामलाई उनको भवनबाट आएको दुर्गन्धको बारेमा अवगत गराएका थिए । त्यसपछि जयरामले महालक्ष्मीकी आमा र दिदीलाई फोन गरेरबोलाएका थिए ।