सलाम छ चणिकलाललाई सरकारले बचाउन सकिएन भनेका २ जनालाई बचाएर नया जीवन दिएकोमा

Blog समाचार

सुगम बस्ती नाम गरेको राजधानीको एउटा टोल, जहाँ राज्यको आपतकालीन सेवा दुर्गम बन्नगयो, ३३ वर्षीय चणिकलाल तामाङले मानवीय सहायता प्रदान गरे ।

शुक्रबारदेखिको अविरल वर्षाका कारण जलमग्न ललितपुर महानगरपालिका–२५ सुगम बस्ती टोल बस्दै आएका स्थानीयहरु बाढी अवलोकन गर्न नदी आसपास गएका थिए ।

सुगम बस्ती टोल सुधार समितिका अध्यक्ष समेत रहेका पूर्ण केसी पनि बिहानैदेखि आफ्नो टोल वरपर परिचालित थिए । सुगम बस्तीमै भाडामा बस्दै आएका थिए, काभ्रेका चणिकलाल ताामाङ ।

काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका चणिकलाल पेन्टर हुन् । दशैंको मुखमा पेन्टिङ कामको चाप बढे पनि वर्षाका कारण शनिबारको काम रोकिएको थियो । उनी पनि आफ्नो वरपर बाढीको कहर हेर्न निक्लेका थिए ।

सुगम बस्ती टोल नजिकै नख्खु खोला किनारमा एउटा टहरो थियो । टोलसुधार समितिका अध्यक्ष केसीका अनुसार टहरोमा ग्रिल कारखाना र कवाड सामान राख्ने गरिएको थियो ।

उक्त क्षेत्रमा बस्ने व्यक्तिहरु आ–आफ्नो सामान सार्दै पारि तर्दै थिए । उनीहरुले पनि स्थानीयका सामानहरु सार्न सहयोग गर्दै थिए । त्यही बेला खोला बढ्न गयो । रौतहट घर भई सुगम बस्ती टोल बस्दै आएका ४३ वर्षीय राजु साह, उनकी छोरी ६ वर्षीया मेघना साह, राजुका भाइ २२ वर्षीय राज साह, राजकै छोरी करिब ४ वर्षीया शेर्तु साह आफ्नो ज्यान जोगाउन जस्ताको टहरोमाथि चढेका थिए ।

करिब १० मिनेट जति उनीहरु जस्ताको टहरोमाथि बसेका थिए । दुई बच्चा र दुई युवक गरी चार जना टहरामाथि चढेर उद्धारको याचना गर्दै थिए ।

बीच खोलामा चार जना फसेका थिए भने वारिपारि स्थानीयहरु थुप्रिएका थिए । त्यति नै बेला बाढीले टहरो भत्काएपछि चारै जना बगे । ‘हामीले हेर्दा हेर्दै बगायो । केही गर्न सकिएन’, टोल सुधारका अध्यक्ष केसीले अनलाइनखबरसँग भने ।

उनीहरु निसहाय भएर बाढीमा बग्न थाले । ज्यानको याचनाबीच कतैबाट सहायता प्राप्त भएन ।

तर त्यही बेला फुत्त नख्खु खोलामा हाम फाले चणिकलाल । टहराको छानाबाट बगेका चार जना करिब ३ सय मिटर बगिसकेका थिए । चणिकलाल एक्लैले दुई जनालाई सकुशल उद्धार गर्न सफल भए ।

राजु आफ्नी छोरी मेघनालाई च्यापेर पौडिँदै गरेका बेला चणिकलालले निकालेका थिए ।

‘म खोला किनारमै हिँड्दै थिए । खोलाबाट कराउँदै बचाउ–बचाउ भनेको आवाज भयो’, चणिकलालले अनलाइनखबरसँग भने, ‘त्यसपछि म आफैं बाढीमा पसेर उद्दार गरेँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *