अर्थमन्त्री डा. प्रकाश शरण महत र अर्थ सचिव डा. कृष्णहरि पुस्करले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको निर्देशनमा अर्थ मन्त्रालयका ७ जना सहसचिवहरुको सरुवा गरेका छन् । अर्थमन्त्री डा. महत र सचिव डा. पुस्करले मन्त्रालय अन्तर्गतका ७ जना सहसचिवहरुको २०८० माघ १९ गते मन्त्री स्तरीय निर्णय गरि सरुवा गरेका छन् । मन्त्री डा.महतले सहसचिवहरुलाई कुनै जानकारी नै नदिई अकस्मात सरुवा गरेका हुन् । तर, यो सरूवाका सम्बन्धमा साँघु साप्ताहिकले दुई महिना अगाडि नै समाचार लेखिसकेको थियो ।
मन्त्री डा. महतले आन्तरिक राजश्व विभागको महानिर्देशक दीर्घराज मैनालीलाई १५ महिनामै हटाएर अर्थ मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल कुमार बराललाई महानिर्देशक बनाएर आन्तरिक राजस्व विभाग लाजिम्पाट पठाइएका छन् । उनले २०८० माघ २१ गते आइतबारबाटै जिम्मेवारी सम्हालेका छन् । सहसचिव बराल अर्काे वर्षभित्र सचिव बढुवाको लाइनमा रहेका २०७१ सालका सिनियर सहसचिव हुन् । उनलाई मन्त्री डा. महतले चार महिना अगाडिनै आन्तरिक राजस्व विभागको महानिर्देशक बनाउन खोजेका थिए ।
डीजी मैनालीलाई भने अर्थ मन्त्रालयको कालापानी भनिने नयाँ कार्यालय सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुखमा थन्काउने काम भएको छ । दुई वटा महत्वपूर्ण विभागको महानिर्देशक भैसकेका मैनालीलाई कार्यालयको प्रमुखमा सरूवा गरिएको छ । अर्थ मन्त्रालयमा सहसचिव बरालले सम्हाल्दै आएको वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको जिम्मेवारी दुई साता अगाडि मात्र सरूवा भएर अर्थमा भित्रिएका मन्त्री डा. महतका अति विश्वासपात्र सहसचिव नारायण रिसाललाई दिइएको छ । उनलाई नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने शर्तमा त्यहाँ लगिएको चर्चा छ ।
यसैगरि मन्त्री डा. महतले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा.टोकराज पाण्डेलाई अर्थ मन्त्रालय तानेर कर्मचारी प्रशासन महाशाखा प्रमुख जस्तो महत्वपूर्ण जिम्मेवारी सुम्पिएका छन् । तीन महिना अगाडि मात्र त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख भएका पाण्डेले त्यहाँ कर्मचारीले सहयोग नगरेकाकारण चाहेर पनि राम्रो काम र राजस्व चुहावट र छलि नियन्त्रण गर्न सकेका थिएनन् ।
पाण्डेको ठाउँमा भन्सार विभागका उपमहानिर्देशक सेवन्त पोखरेललाई पठाइएको छ । सहसचिव पोखरेलको मधेस प्रदेशको अर्थ तथा योजना मन्त्रालय सरूवा भएकोमा पछि संशोधन गरि रोकिएको थियो । वीरगन्ज भन्सार कार्यालयका प्रमुख भैसकेका पोखरेल विगत डेढ वर्षदेखि भन्सार विभागको उपमहानिर्देशक रहेका थिए । उनी भन्सार प्रशासनमा पोख्त सहसचिव हुन् ।
विमानस्थल भन्सार कार्यालय प्रमुखमा कोही सहसचिव पनि जान नमानेको अवस्थामा पोखरेलले केरियरको जोखिम मोलेर भएपनि जान मानेका छन् । भन्सार विभागको उपमहानिर्देशकमा भने सहसचिव आन्तरिक राजस्व विभागका उपमहानिर्देशक टंक प्रसाद पाण्डेको सरुवा भएको छ ।
त्यस्तै मन्त्री डा.महतले अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख बाबुराम सुवेदी २०८० माघ महिनाको सुरूमा अवकास भएपछिको रिक्त स्थानमा प्रशासन महाशाखाका प्रमुख सहसचिव महेश आचार्यलाई सरुवा गरेका छन् । अन्य सहसचिवहरुको जिम्मेवारी भने यथावत रहेको स्रोतले बताएको छ ।