आफुलाई भष्ट्राचार विरोधी अभियन्ता बताउने ४ जना ठगीको आरोपमा पक्राउ : ‘भ्रष्टाचार विरोधी अभियन्ता हौँ’ भनेर काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा आतंक सिर्जना गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-६ का ३१ वर्षका राजु सुनार, ८ का २६ वर्षीय आदर्श क्षेत्री, १ का २० वर्षीया अस्मिता खत्री र २ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन् । कर छली गरेको, भ्रष्टाचार गरेको भन्ने उजुरी परेको र त्यस विषयमा छानबिन गर्न आएको यो समूहले ठगी गर्दै आएको प्रहरीको भनाइ छ । सबै हिसाबकिताब देखाऊ भन्दै असम्बन्धित सूचना माग्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्काउने, मुद्दा हालदिन्छु भनी आतंक सृजना गरी भिडिओ बनाई रकम असुल्ने गरेको बताइएको छ ।
त्यसरी खिचिएका सामग्री उनीहरूले युट्युवलगायत सामाजिक सञ्जालमा राखी चरित्र हत्या गरेको भन्दै प्रहरी वृत्त बौद्दमा जाहेरीसमेत परेको थियो ।