सोचे झैं जिन्दगी रैनछ’ बोलको गीतबाट परिचित भएकी गायिका मधु क्षेत्रीको निजी जीवनमा पनि सोचे झैं केही भइरहेको छैन । पहिलो श्रीमानसँग डिभोर्सपछि दोस्रो विवाह गरेकी उनी अहिले फेरि सम्बन्ध तोड्ने संघारमा पुगेकी छन् । मधुले अष्ट्रेलिया बस्ने प्रेमी सुरेश खड्कासँग दुई वर्षअगाडि कोर्ट म्यारिज गरेकी थिइन् । पहिलो श्रीमानसँग डिभोर्स गरेर एकल जीवन बाँच्दै आएकी मधु नयाँ जीवनसाथीका रूपमा सुरेशलाई पाउँदा निकै खुशी थिइन् । सुरेश पनि डिभोर्सी थिए । विवाहपछि दिएका अन्तर्वार्तामा मधुले श्रीमानको जमेर प्रशंसा गर्थिन् । श्रीमानबाट प्रचुर माया पाएको भनेर आत्मरती व्यक्त गर्थिन् । यद्यपि, मधुको खुशी लामो समय टिक्न सकेन । गत डिसेम्बरमा उनी आफ्नी हुर्केकी छोरी (पहिलो श्रीमानपट्टिकी) समेतलाई लिएर अष्ट्रेलिया गइन् । उनी आफ्नो सांगीतिक करिअरलाई बिट मारेरै अष्ट्रेलिया सेटल हुन गएकी थिइन्। उनले विवाहपछि अन्तर्वार्तामा अब संगीतबाट टाढिने घाेषणा गरिसकेकी थिइन्।
अष्ट्रेलियामा मधुका श्रीमान सुरेश आफ्नो बुवाआमासँग बस्दै आएका छन् । मधुकी छोरीलाई पनि स्वीकारेर आफूसँगै राख्न उनी तयार भएका थिए । सुरेशको पनि पहिलो श्रीमतीबाट सन्तान छन्, तर उनीहरू बुवासँग बस्दैनन् ।