उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङकी दुवै हात नभएकी पवित्रा बिकले एसईईमा ३.१२ जीपिए ल्याएर उत्तीर्ण भएकी छन । पोखराको रामबजारस्थित एस ओ एस हर्मन माइनर स्कुलबाट परीक्षामा सहभागी भएकी थिइन । पोखराको फलेपाटनस्थित सिद्ध मावि परीक्षा केन्द्रमा विद्यालयले उपलब्ध गराएको सहयोगीको भरमा पवित्राले परीक्षा दिएकी थिइन । ९ कक्षामा पढ्ने सहयोगी बिभूती पाण्डेले उनलाई सहयोग गरेकी थिइन । पवित्राले अव अंग्रेजी विषय लिएर शिक्षा संकाय पढ्ने बताइन ।
दुबै हात नभएकी नारच्याङकी पवित्राले ल्याइन एसईईमा ३.१२ जीपिए
तर परिवारको आर्थिक अवस्था नाजुक छ । उनी अहिले एक चर्चमा आवद्ध भएकी छन । उसले ११ र १२ कक्षा उत्तीर्णपछि कोरिया लैजाने भनेकाले शिक्षा विषय रोजेकी हुन । आमा कृष्णाका अनुसार पवित्रालाई कोरियन भाषा पनि पढाउने योजना छ । ‘अव कसरी पढाईलाई निरन्तरता दिने भन्ने विषयमा एस ओ एस स्कुलमै गएर सरहरुसंग छलफल गर्छु’ कृष्णाले भनिन्, ‘बाउले हेर्दैनन । मसंग छोरीलाई पढाउने उपाय केही छैन ।’
एस ओ एस हर्मन माइनर स्कुलका प्रधानाध्यापक चुडामणी सुवेदीले पवित्रको आगामी पढाईका विषयमा परिवारसंग बसेर छलफल गर्ने बताए । एस ओ एस बालग्रामको फ्याम्ली सपोर्ट कार्यक्रम मार्फत पवित्राको पढाईलाई सहयोग गर्ने योजना रहेको उनले सुनाए । हालसम्म पवित्राले उक्त स्कुलमा निशुल्क अध्ययन गर्दै आएकी थिइन ।