काठमाडौँ – वेष्ट इण्डिज र अमेरिकामा हुन लागेको आईसीसी टी–२० विश्वकप आउन अब नौ दिनको समय बाँकी छ । तर, नेपाली टिमका सबैभन्दा महत्वपूर्ण र भरपर्दा खेलाडी लेग स्पीनर सन्दीप लामिछाने भने अझै नेपालमा नै छन् । विश्वकप तयारीका लागि अन्य खेलाडीसँगै अभ्यासमा हुनुपर्ने लामिछानेलाई अमेरिकाले भिसा नदिँदा विश्वकप खेल्ने÷नखेल्ने अन्योलता बढेको छ ।
नेपाली लेग स्पीनर सन्दीप लामिछानेको आईसीसी टी–२० विश्वकप खेल्ने सपनामा कालो बाँदल मडारिन थालेको छ । आयोजक राष्ट्र मध्येको एक अमेरिकाले लामिछानेलाई भिसा दिन अस्वीकार गरेपछि विश्वकपका लागि उनले बुनेका हरेक सपना पानीको फोका जस्तै हुने डर सिर्जना हुँदैछ । अहिलेसम्म भिसा नदिनुको स्पष्ट कारण पनि अमेरिकाले खुलाएको छैन । यसमा अमेरिका नै बाधक बत्रे जस्तो देखिएपछि लामिछानेलाई विश्वकपमा सामेल गराउनतर्फ सम्बन्धित निकायहरू सक्रिय रुपमा लागिपरेका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) सन्दीपको भिसा खुलाउन निरन्तर लागिपरेको छ ।
बुधबार सन्दीपको भिसा अस्वीकृत भएको जानकारी पाएसँगै राष्ट्रिय खेलकुद परिषद्, खेलकुद मन्त्रालय, परराष्ट्र मन्त्रालयदेखि प्रधानमन्त्रीको सचिवालयसम्म अवगत गराएको क्यानले बिहीबार बिहानैदेखि खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठसँग पनि छलफलमा जुटेको थियो । क्यान सचिव पारस खड्कासहित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाही बिहानै सन्दीपलाई लिएर हरिहरभवनस्थित मन्त्री क्वार्टरमा पुगेका थिए । भेटपछि मन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालयलाई सन्दीपलाई भिसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएका छन् । सन्दीप टिममा सामेल हुँदा मनोबल बढ्ने र राष्ट्रिय टिमका पूर्वकप्तान समेत रहेकाले टिममा उनको महत्वपूर्ण भूमिका रहने क्यानका सचिव खड्का बताउँछन् ।