परिवारकी जेठी छोरी सृष्टिको त्रिशूलीले बगायो जापान जाने सपना

समाचार

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर-६ घर भएकी सृष्टि यादव सवार एञ्जल बस चितवनको भरतपुर महानगरपालिका– २९ को सिमलतालमा लेदोसहितको पहिरोले बगाएकाे छ। हालसम्म उनी त्रिशूली नदीमा बेपत्ता छिन्।

२५ वर्षीया सृष्टि जगदीशप्रसाद यादव र सुमित्रादेवी यादवको पहिलो सन्तान हुन्। उनी यस परिवारकी जेठी छोरी हुन्। जगदीश र सुमित्राको सृष्टिसहित २२ वर्षीया अर्चना र १८ वर्षीय अनुराग गरी तीन सन्तान हुन्। अर्चना जनकपुरमा बसेर लोकसेवाको तयारी गर्दै छिन् भने अनुराग काठमाडाैंमा बसेर पढ्दै छन्। भाइ र बहिनीको पढाइको सबै खर्च सृष्टि र उनका बुवा जगदीशको कमाइले धानेको थियो।

सृष्टिका बुवा जगदीश बाराको जितपुरसिमरा उपमहानगरपालिकामा रहेको न्यू फोड्ली एग्रो बिजनेस प्रालिमा बजार व्यवस्थापकको रूपमा कार्यरत छन्। तीन वर्षअगाडि एसइई परीक्षा दिएकी सृष्टिले रेडियोग्राफीको दुई वर्षको तालिमपछि उनी पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरको रूपमा २०७९ साल चैतबाट करारमा कार्यरत थिइन्।

सृष्टिको जापान जाने सपना त्रिशूलीले बगायाे

करिब डेढ वर्ष पर्साको सखुवा प्रसौनीमा कार्यरत उनी आफूले सिकेको सिप र ज्ञानले नेपालभन्दा जापानमा राम्रो कमाइ हुने र परिवारको जीवन सुधार गर्न सहयोग हुने विश्वासका साथ सृष्टिले जापान जाने योजना बनाइन्।

सृष्टिले परिवारसँग सरसल्लाह गरेर नै जापानको सैनिक अस्पतालमा आवेदन दिएकी थिइन्। त्यहीँ सैनिक अस्पतालमा जान परीक्षा दिनका लागि उनी वीरगन्जबाट काठमाडौंका लागि छुटेको एञ्जल डिलक्सको बा.प्र ०३००६ ख १५१६ नम्बरकाे बसमा सवार थिइन्। तर, उनको बस गन्तव्यमा पुग्नै पाएन। जापान पुग्ने उनको सपनासँगै उनलाई भरतपुर महानगरपालिका–२९ को सिमलतालमा लेदोसहितको पहिरोले त्रिशूलीमा बेपत्ता पार्‍यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *