सन्दीपलाई मुद्दा अघि नबढाउन ‘गौशाला २६’ ले दिइन् निवेदन

समाचार

नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा अघि नबढाउन पीडित गौशाला २६ले निवेदन दर्ता गरेकी छन् ।उच्च अदालत पाटनले गौशाला २६को जाहेरीपछि दर्ता भएको मुद्दामा सफाइ दिने फैसला सुनाएको थियो । उक्त मुद्दाको पूर्णपाठ तयार भएर मंगलबारमात्र उच्च सरकारी वकिल कार्यालयमा आइपुगेको थियो । बिहीबार गौशाला २६ आफै निवेदन लिएर पुगेकी थिइन् । उनले निवेदनसँगै आफ्नो नागरिकताको सक्कलै प्रति पनि बुझाएकी छन् । उनले आफू यो मुद्दाका कारण धेरै मानसिक तनावमा परेको र सामाजिक रूपमा समेत अप्ठ्यारो अवस्थामा परेका कारण थप अगाडि नबढोस् भन्ने चाहाना राखेर निवेदन दिएको दाबी गरेकी छन् ।

उनले हस्तलिखित रूपमा निवेदन उच्च सरकारी वकिल कार्यालय पेस गरेकी छन् । गौशाला २६ ले आफैँ आएर मुद्दा अघि नबढाउन निवेदन दिएको कुरा उच्च सरकारी वकिल कार्यालयका प्रमुख शङ्कर खत्रीले पुष्टि गरे । उनले निवेदनबारे थप टिप्पणी भने नगर्ने बताए ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसला सुनाउदै लामिछानेलाई सफाइ दिएको थियो । उक्त फैसलाको पूर्णपाठ साउन ४ गते सार्वजनिक भएको थियो ।

पीडितले प्रतिकार गरेको, कराएको, चिच्याएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाको लागि कुनै सहयोगको याचना गरेको नदेखिएको विषयलाई अदालतले सफाइको एउटा आधार बनाएको थियो । यो तथ्यलाई वोजनी होटल नगरकोटका सुपरभाइजर समिर पुरी, होटल इनका सुरक्षाकर्मी राजन राणा, बाबुकाजी थापामगर, होटल इनका वेटर सबिन श्रेष्ठ, रिसेप्सनिष्ट अनिष श्रेष्ठको कागज र बकपत्रबाट समेत उक्त होटेलमा जान पीडितको सहमति रहेको पुष्टि भएको अदालतको ठहर थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *