अछाम, जेठ ३१ गते । कर्णालीको पुलको लट्ठा चुँडिएपछि पुल पार गर्दै गरेका १३ वटा खच्चड पुलकै बिचमा अड्किए । स्थानीय साधन स्रोतको अभावले खच्चडको उद्धार सम्भव भएन । इलाका प्रहरी कार्यालय कालेकाडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामसिंह फरालले आफूलाई जोखिममा राखेर खच्चड बचाउनुभयो । लङलाइन गरेर (डोरीको सहायताबाट उद्धार) उद्धार गर्न सकिने प्रशस्तै व्यवस्था भएपनि राज्य स्तरबाट कुनै पनि सहयोग नभएपछि असई रामसिंहले पुलको बिचमा अड्किएका खच्चडको ज्यान बनाउन सफल हुनुभयो ।
गत आइतबार दिउँसो कर्णाली नदी माथिको झोलुङ्गे पुलमा खच्चड फसेको समाचार देशभर भाइरल भएको थियो । अछामको पञ्चदेवल विनायक नगरपालिका-९ कालेकाडाबाट दैलेखको आठविस नगरपालिका-४ खिड्किज्यूलामा खाद्यान्न लिन गएका १३ खच्चड झोलुङ्गे पुलको लट्ठा चुँडिएर फसेका थिए ।